काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।
सिनेमाको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । यो सिनेमा आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।
सिनेमामा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।