काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समिर लगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे ।
कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताए । उनले भने, “मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव महत्त्वपूर्ण रहने छ ।”
समिरले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए। उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा. त्रिपाठीले पहिलो प्रयास स्वागतयोग्य रहेको बताइन् ।
सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिए। उनले भने, “उहाँ राम्रो सञ्चारकर्मी भएकाले लेखकका रूपमा परिचय थपिँदै गर्दा दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुहुन्छ भन्नेमा विश्वस्त छु । उहाँको कथामा विविधता छ, रोचकता छ । सामाजिक विकृतिलाई व्यङ्ग्य गर्नुका साथै यसमा सचेत पनि गराइएको छ ।”
यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गरे ।