एडल्ट सिनेमा ‘दुखी आत्मा’ मा काम गर्दा कुनै असजिलो वा अप्ठ्यारो महसुस भएन: दयाहाङ




काठमाडौं ।
फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरलाई लिएर चर्चामा छ। कतिपयले अभिनेता दयाहाङ राइलाई यसरी संवेदनशील कथामा फिल्म किन गरेको भन्ने प्रश्न उठाएका छन् भने, कतिपयले दयाले नयाँ र फरक कथामा काम गरेको भन्दै त्यसको प्रशंसा पनि गरेका छन् । ट्रेलरको बारेमा विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन् ।

दयाहाङ राई भन्छन्, “मानसिक स्वास्थ्यका बारेमा हामी अब मात्र खुल्न थालेका छौं । हाम्रो समाजमा परिवारका सदस्यहरूले स्वास्थ्यसँग सम्बन्धित कुराहरूको बारेमा बोल्न थालिसकेका छन् । यौन र व्यक्तिगत कुराहरू भने हामीले गोप्य राख्न चाहन्छौं । तर यो चासोको विषय हो, र यसबारे खुल्नुपर्ने कुरा हो । भारतमा पनि ४० वर्ष अगाडि मात्र यस्ता विषयहरू फिल्ममा उठ्न थालेका थिए । म विश्वास गर्छु कि मानिसहरूलाई यसबारे थाहा हुनु आवश्यक छ । त्यसको छलफल भनेको आफ्नो ठाउँमा गर्नुपर्छ ।”

दयाले थपे, “यो फिल्म गर्दा मलाई कुनै असजिलो वा अप्ठ्यारो महसुस भएन । साथीहरूले मलाई सोधेका छन् कि यस्तो फिल्म किन गरेपछि कस्तो महसुस भयो भनेर, तर मैले भनेको छु कि मलाई कस्तो पनि लागेन । कलाकारको रूपमा यो निर्णय व्यक्तिगत हुन्छ ।” उनले आफ्ना चलचित्रहरूलाई परिवारसँग हेर्न जाने परंपरा थियो भने यस पटक फरक अनुभव हुने भएकाले दर्शकलाई आफ्नो स्थानबाट जान सन्देश दिएका छन् ।

दयाहाङ राईले एक सुन्दर समाज निर्माणका लागि स्वस्थ समाजको महत्त्वमाथि जोड दिएका छन् । “मैले यो फिल्म गर्नुपर्छ भन्ने विचार राखेर काम गरेँ । फिल्मको टिजर आउँदा मसँग केही असहमति थियो, किनकि यो फिल्मको मुख्य विषयवस्तु टिजरमा मात्र देखाइएको थिएन । त्यहाँ केही संवादहरू थिए, जुन पूर्ण रूपमा फिल्मको कथा भन्न आवश्यक छ,” उनले भने ।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको यस फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।