‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक


काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द,कृष्ण भारध्वजको संगीत रहेको गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ।

एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ । गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ ।

गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।