प्राविधिक संघका महासचिव कार्कीको चलचित्र ‘मनको बाँध’ घोषणा


काठमाडौं। प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् ।सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् ।

‘मनको बाँध’लाई श्रीत फिल्म्स र नटराज क्रिएसनले संयुक्त रूपमा निर्माण गर्दैछन् । अहिले कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।

नेपाल चलचित्र प्राबिधिक संघका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ ।

‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ । यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए ।

‘मनको बाँध’ नामले नेपाली चलचित्र इतिहासमा पनि ठुलो महत्त्व राख्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.