सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण


काठमाडौं। सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएकी हुन् ।

विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं रंग पत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल लगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताइन् ।

गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छिन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गरेकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।
तस्बिर : सुरेन्द्र थापा