‘महाभोज’को छायाङ्कन सुरु, खगेन्द्र र मोहनले दिए पहिलो शट


काठमाडौं। नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो । चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता काठमाडौंमा क्यामेरा तथा चलचित्रको स्क्रिप्ट पूजा गरिएको थियो ।

निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर पाइनेछ । निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको जनाए । उनले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्ने तथा देशका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने चलचित्रले देखाउने बताए ।

चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गर्दैछन् । यसका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.