काठमाडौं । गायक तथा संगीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ । सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’ र ‘आमा’ जस्ता हिट गीतका लागि चर्चित सुशान्तले कन्सर्टमा पुराना हिट गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने, “काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।”
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकका अनुसार टिकटको माग उच्च रहने भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन् । उनले भने, “यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।”
आयोजकले कन्सर्टमा करिब १५,००० दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको छ ।