चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न,बुधवारबाट छायांकन


काठमाडौं। कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो ।

पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति रहेको थियो । साथै, चलचित्र प्राविधिक तथा निर्माण समूह उपस्थित थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो चलचित्रको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ ।

पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन् । निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए । “महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,” राउतले भने, “देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ ।”

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका छन् भने छायाँकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.