काठमाडौँ। चलचित्र ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङको एरेञ्ज रहेको छ । समर निरौलाको डेव्यु निर्देशकिय चलचित्र माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ।
समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।
चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती,समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।