महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’


काठमाडौँ। रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् । पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् । सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ ।

‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन् । निरोज महर्जनको निर्देशन रहेको सिनेमामा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी हुन्। सिनेमामा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सह-निर्माताको रुपमा एनी थापा छन् । सिनेमालाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.