अझै ओभानो बन्न सकेको छैन कोहिनुर स्वेताको आँखा


विवाहबन्धनमा बाँधिएको एक महिनामै विधवा बन्ने कुराको कल्पना पनि गर्न सक्दैनन् महिला । यही अकल्पनीय बज्रपात परेको छ नायिका श्वेता खड्कालाई । एक महिनाअघि नायक श्रीकृष्ण श्रेष्ठसित धुमधामले गरेको बिहे उनका लागि केवल चिसो स्मृति बन्न पुगेको छ ।

श्रीकृष्णको वियोगको चोट देशभरका प्रशंसकलाई पर्‍यो, तर यसको पीडा श्वेतालाई जति अरू कसलाई महसुस होला ? भारतमा पतिको प्राण गएदेखि नेपालमा ल्याएर दाहसंस्कार गर्दासम्म उनी असह्य वेदनामा थिइन् । अहिले पनि उनी अर्धमूर्छित् अवस्थामै छिन् । भेट्न आउनेको लर्को छ, सहानुभूति दिनेको भीड छ । तर, श्वेता कसैसित बोल्न सक्ने अवस्थामा पनि छैनन् ।
sweta-khadka-1
सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि श्वेता श्रीकृष्ण घर (म्हेपी, बालाजु)मा परिवार सदस्यका साथ किरियामा बसेकी छिन् । तर, उनी पूर्ण होसमा भने छैनन् । छिनमै टोलाउँछिन् । छिनमै रुन्छिन् । उनलाई सम्झाउन र सम्हाल्न करिब एक दर्जन महिला वरिपरि बसिरहेका छन् । शवयात्रा र दाहसंस्कारमा मात्र होइन, घरमा समेत श्रीकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्न दर्शक, शुभचिन्तक र आफन्तको भीड लागिरहेको छ । जसरी, कोहिनुर हेर्न देशभरका हलमा दर्शकको घुइँचो लागिरहेको छ ।

‘श्वेता बहिनीले साहस जुटाउनुपर्छ,’ कोहिनुरका निर्देशक आकाश अधिकारी भन्छन्, ‘श्रीकृष्णजीले केही सपना हामीसँग बाँड्नुभएको थियो, त्योभन्दा बढी पत्नी श्वेतासँग बाँड्नुभएको थियो होला । त्यसैले श्वेता बहिनीले श्रीकृष्णजीको सपना पूरा गर्न आत्मबल बढाउनुपर्छ । उनी र उनको परिवारलाई भगवान्ले धैर्यधारणा गर्ने शक्ति दिऊन् भन्ने कामना गर्छु ।’

साढे ६ वर्षअघिको चिनजान र पाँच वर्षअघिदेखिको प्रेमसम्बन्धपछि परिवारको सहमतिमा उनीहरूले बिहे गरेका थिए । बिहेलगत्तै हनिमुन मनाउन पति श्रीकृष्णका साथ भारत पसेकी श्वेताको जिन्दगीले फरक मोड लियो । हाँसीखुसी घुमिरहेका पति एकाएक बिमारी परे । देशमा आफैँले बनाएको फिल्मको रिलिज मिति नजिकिँदै गर्दा श्रीकृष्ण दिल्लीको गंगाराम अस्पतालको आइसियूमा मृत्युसँग संघर्ष गर्दै थिए भने श्वेता पतिको हेरचाह र स्वास्थ्यलाभको कामना गर्दै भगवान् पुकारी रहेकी थिइन् । तर, अफसोच, दैव यति निष्ठुरी भइदियो कि, श्रीकृष्णलाई मृत्युसँग हराएरै छाड्यो ।

श्वेतालाई श्रीकृष्णले नै चलचित्र नगरीमा भित्र्याएका थिए । कहाँ भेटिएलाका लागि श्रीकृष्णले फ्रेस अनुहार खोजिरहेका वेला श्वेता भेटिएकी थिइन् । त्यतिवेलैदेखि यो जोडीको केमेस्ट्रीबारे चर्चा सुरु भइसकेको थियो । कहाँ भेटिएला सुपरहिट भएपछि उनीहरूको सम्बन्ध पनि गाढा बन्दै गए । कुनै पनि सार्वजनिक कार्यक्रममा उनीहरू एक्लाएक्लै भेटिँदैनथे । चलचित्रकर्मी र मिडियाबीच पहिलेदेखि नै लख काटिए पनि उनीहरूले सार्वजनिक रूपमा आफूलाई प्रेमी–प्रेमिकाका रूपमा धेरै ढिला चिनाए । यतिन्जेल श्रीकृष्ण श्वेताको परिवारमा समेत मज्जाले घुलमिल भइसकेका थिए । श्वेताका निम्ति उनी एक प्रेमी मात्र नभएर अभिभावकजस्तै थिए । दुवैतर्फ परिवारको सहमतिपछि उनीहरूले बिहे गरे ।

बिहेको तयारी, बिहे र त्यसपछिको रिसेप्सन पार्टीको अनवरत क्रियाशीलता र धपेडीका कारण बिहेकै साँझ अर्थात् गत २३ असारमै श्रीकृष्णले असहज महसुस गरेका थिए । त्यसमाथि उनलाई सुक्खा खोकीले पनि सताइरहेको थियो । २३ साउनमा आफूहरूले निर्माण गरेको कोहिनुर फिल्म प्रदर्शनको मिति तोकिएकाले उनीहरू बिहेअघि पनि पब्लिसिटीमा खटिएका थिए । एकोहोरो कामको बोझले गर्दा थकित भएका उनीहरू २७ असारमा भारत उडेका थिए ।
Shree-sweta-marrige
चेलीबेटी बेचबिखनजस्तो गम्भीर समस्याको विषयमा फिल्म बनाएको र थुप्रै दृश्य भारतका विभिन्न स्थानमा खिचिएकाले श्रीकृष्ण र श्वेता आफ्नो फिल्म भारतमा रहेका नेपालीबीच पनि प्रदर्शन गर्ने सोचमा थिए । त्यसकारण उनीहरूले भारतको सिमला, जम्मु–कास्मिर, मुम्बई हुँदै थाइल्यान्ड अनि हङकङसम्म पुग्ने योजना बनाएर यात्रा तय गरेका थिए । तर, अफसोच, सिमलाको चिसोले श्रीकृष्णको खोकीलाई अझ बल्झायो । त्यसको उपचार गर्न उनीहरू दिल्ली लागे । खोकीको उपचार गरी निको भएपछि भ्रमण छोट्याएर काठमाडौं फर्कने योजना बनाउँदै गर्दा उनको स्वास्थ्यमा फेरि समस्या देखियो । गंगाराम अस्पतालमा उपचारार्थ भर्ना भए । डाक्टरले उनलाई निमोनिया भएको बताए । निमोनियाको उपचार हुँदै गर्दा उनमा

गम्भीर समस्या देखापर्‍यो । त्यो थियो– बोन क्यान्सर । निमोनिया, त्यसमाथि बोन क्यान्सर । मान्छेको शरीरले धान्ला त ? तै पनि केमोथेरापी सुरु भयो । पहिलो केमोलाई श्रीकृष्णले थेगे । त्यसको ६ दिनपछि फेरि केमो दिइयो । तर, अफसोच, श्रीकृष्णको शरीरले धान्न सकेन । फलस्वरूप, २४ साउनको राति ११ बजे श्रीकृष्णको प्राण सदाका लागि गयो । श्वेतालाई एक्लै पारेर श्रीकृष्ण अनन्त यात्रामा प्रस्थान गरे ।
लक्ष्मण सुवेदी (नयाँ पत्रिका बाट साभार)