सबिन, पूर्ण र जोनसहित हजारौं दर्शक झुमे ‘सुम्निमा पारुहाङ साँझ’ मा


धरान। शुक्रबार साँझ पूर्वको सांगीतिक हब धरानको रङ्गशालामा अभूतपूर्व उत्साहका साथ ‘सुम्निमा पारुहाङ साँझ २०८१’ सम्पन्न भयो। कार्यक्रममा स्थानीय, राष्ट्रिय, र छिमेकी देश भारतका दर्शकहरूको व्यापक उपस्थिति देखियो। भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी जस्ता स्थानहरूसँगै बुटवल, पोखरा, चितवनलगायत देशका विभिन्न सहरबाट दर्शकहरु सहभागी थिए।

धरानका मेयर हर्क साम्पाङको चिन्‌डेडाँडामा निर्माणाधीन सुम्निमा पारुहाङको सांस्कृतिक धरोहरको लागि कोष संकलन गर्न आयोजना गरिएको यो दोस्रो च्यारिटी कन्सर्ट हो। कन्सर्टमा अहिलेका चर्चित युवा ब्याण्डहरू जोन एन्ड द लोकल्स, पूर्ण राई एन्ड दाजुभाइ, र लिजेन्डरी ब्यान्ड सबिन राई एन्ड द फ्यारोहले एउटै स्टेज साझा गर्दै ऐतिहासिक प्रस्तुति दिए।

कार्यक्रमको सुरुवात धरानकै उदयीमान गायिका क्यामरिन माझी र उनको ब्याण्ड आरोहिजले धरानका दिवंगत गायक-संगीतकार नवराम राईलाई श्रद्धाञ्जली दिँदै “गुराँसको फेदमुनि” गीत प्रस्तुत गरेर गरेका थिए।

पहिलो नेपाल स्टार बिष्णु चेम्जोङले द्रव्य ब्याण्डसँग “शान्ति लुकाउँ कहाँ”, “याद” लगायतका चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्र मुग्ध बनाइन्।

युवा पुस्तामाझ लोकप्रिय पूर्ण राई एन्ड दाजुभाइले “मनका कुरा”, “कालो सेतो”, “तिम्रो माया” जस्ता हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाए।

त्यसपछि, स्टेजमा देखा परेका अर्को चर्चित ब्याण्ड जोन एन्ड द लोकल्सका गायक जोन चाम्लिङले “के गरूँ”, “फर्कन्न होला”, “मुटु देखिन” लगायतका गीत प्रस्तुत गरेर माहोललाई थप उचाइमा पुर्‍याए।

कार्यक्रमको अन्त्यतिर, नेपाली रक संगीतका लिजेन्ड सबिन राई एन्ड द फ्यारोहको प्रस्तुति दर्शकहरूको प्रतीक्षा बराबरकै भयो। उनले “समर्पण मेरो”, “जाउँ कि बसूँ”, “तिमी नै हो” लगायतका लोकप्रिय गीतहरू गाए। सबिन राई र पूर्ण राईले संयुक्त रूपमा दिवंगत गायक नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै “गुराँसको फेदमुनि” गाएको क्षण सबैभन्दा भावनात्मक थियो।

कार्यक्रमको सञ्चालन इक्सा मादेन र महेश लिम्बुले गरेका थिए। मेयर हर्क साम्पाङले सबै कलाकार र आयोजकलाई धन्यवाद दिँदै सम्मान व्यक्त गरे। कलाकारहरूले आफ्नो प्रस्तुति निशुल्क उपलब्ध गराएका थिए।

सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजित यस कन्सर्टबाट संकलित सम्पूर्ण रकम सुम्निमा पारुहाङ प्रतिष्ठानमा हस्तान्तरण गरिने संयोजक मीना सिंगकले बताइन्। यसअघि, गत चैत्रमा सम्पन्न पहिलो च्यारिटी कन्सर्टबाट ६४ लाख ८८ हजार ९१९ रुपैयाँ हस्तान्तरण गरिएको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.