अल्लु अर्जुनको ‘पुष्पा २’ ट्रेलर सार्वजनिक, दमदार अवतारले बढायो उत्साह


काठमाडौं। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनका लागि आइतबार विशेष रह्यो। उनले बिहारको पटनामा रहेको गान्धी मैदानमा बहुप्रतीक्षित चलचित्र ‘पुष्पा : द रुल’ को ट्रेलर सार्वजनिक गरे।

झन्डै तीन मिनेट लामो ट्रेलरमा अल्लु अर्जुनको शक्तिशाली र प्रभावशाली अवतार देख्न सकिन्छ। यस पटक, चलचित्रले अल्लुको मात्र होइन, रश्मिका मन्दना र फहाद फासिलको भूमिकालाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ। सुकुमारको निर्देशनमा बनेको यो चलचित्र मैथ्री मूवी मेकर्सले निर्माण गरेको हो, जुन आगामी डिसेम्बर ५ मा प्रदर्शनमा आउँदैछ।

बिहारजस्तो ठेट हिन्दी क्षेत्रलाई ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गर्नका लागि छान्नु, निर्माता र अल्लु अर्जुनको सोचले ठूलो रणनीतिको परिचय दिन्छ। यसको उद्देश्य भारतका ग्रामीण र साना सहरका दर्शकसम्म चलचित्रको क्रेज पुर्‍याउनु हो। तीन वर्षअघि रिलिज भएको ‘पुष्पा : द राइज’ ले पनि यस्तै क्षेत्रमा उल्लेखनीय लोकप्रियता हासिल गरेको थियो।

ट्रेलरको आरम्भ नै रहस्यमय संवादले हुन्छ, “को हो यो मान्छे, जसलाई न पैसाको लोभ छ, न पावरको डर। पक्कै पनि यसलाई गहिरो चोट लागेको छ।” त्यसपछि पुष्पाको भूमिकामा अल्लु अर्जुनको धमाकेदार उपस्थितिले माहोल तात्छ। ट्रेलरमा उनले प्रभावशाली संवादमा भन्छन्, “पुष्पा… ढाई अक्षर नाम सानो छ, तर साउन्ड धेरै ठूलो छ।”

चलचित्रको कथा आन्ध्र प्रदेशका पहाडहरूबाट सुरु भएर अन्तर्राष्ट्रिय माफियासम्मको संघर्षमा केन्द्रित छ। पुष्पा आफ्नो साम्राज्यको रक्षा गर्दै स्वदेशी र विदेशी दुस्मनहरूसँग भिडिरहेको छ। ट्रेलरमा रश्मिका मन्दनासँगको रोमाञ्चक केमिस्ट्री र फहाद फासिलसँगको खतरनाक टकराबले दर्शकलाई आकर्षित गर्नेछ।

२०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’ ले भारतभर ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोड रुपैयाँको कमाइ गर्दै इतिहास रचेको थियो। यसका गीतदेखि संवादसम्म दर्शकको जुबानमा बसेका थिए। भोजपुरी भर्सनको ‘श्रीवल्ली’ गीतले पनि उत्तिकै सफलता हात पारेको थियो।

अब, ‘पुष्पा २’ ले त्यो सफलता दोहोर्याउने मात्र होइन, अझ नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। ट्रेलरले अल्लु अर्जुनको दमदार अवतारले चलचित्रलाई बलियो आधार दिएको स्पष्ट देखाउँछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.