पोखरेलको निर्माणमा चामे र गौँथलीको कथा ‘परालको आगो’ बन्ने


काठमाडौं । नेपाली साहित्यका धरोहर कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ मा आधारित भएर नयाँ फिल्म निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई यस ऐतिहासिक कृतिलाई पर्दामा उतार्न अनुमति दिएको हो।

कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले ‘कथाको मर्म र आत्मा नबिगार्ने’ शर्तमा फिल्म निर्माणको सहमति जनाएका छन्। निर्माता सुशील पोखरेलका अनुसार फिल्म २०८२ सालको दशैंलाई लक्षित गर्दै प्रदर्शनमा आउनेछ । यही नाममा ४५ वर्षअघि पनि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। तर, यसपटक फिल्मलाई बिल्कुलै नयाँ लोकेसन, प्रस्तुति शैली र पटकथासहित फरक ढंगले प्रस्तुत गरिने निर्माता पोखरेलले बताए।

फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्ने भएका छन् भने छायांकन आगामी फागुनदेखि सुरु हुने तयारी छ। हालसम्म कलाकारहरूको छनोट प्रक्रिया जारी छ। यस फिल्ममा चामे र गौँथलीबीचको झगडा, ईर्ष्या, र सामाजिकीकरणको कथा मुख्य रूपमा प्रस्तुत गरिनेछ। यसलाई आजको सन्दर्भअनुसार थप परिमार्जन गरेर दर्शकलाई जीवन र समाजको गहिरो सन्देश दिन प्रयास गरिने बताइएको छ।

निर्माता पोखरेल, जो यसअघि सफल फिल्महरू ‘मैदान,’ ‘जीवनदाता,’ ‘निगरानी,’ ‘जय शिव शंकर,’ ‘लभ सभ,’ ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्, फिल्मलाई यथार्थपरक र समसामयिक बनाउने योजनामा छन्। उनका अनुसार, यो फिल्मले साहित्य र सिनेमाको सेतु बन्ने अपेक्षा गरिएको छ।

यो फिल्मले दर्शकलाई नेपाली समाज र परम्परागत सोचको गहिराइमा लैजाने मात्र होइन, आधुनिक प्रविधि र प्रस्तुति शैलीमार्फत नयाँ पुस्तालाई पनि आकर्षित गर्ने लक्ष्य राखेको छ।

फिल्ममा सुशील देबकोटा लेखन सुरेन्द्र रानाको शब्द सत्यस्वरुपको संगीत रामजी लामिछानेको कोरियोग्राफी र नरेन्द्र घिमिरे प्रोडक्सन हेड रहनेछन्। चलचित्रमा काम गर्ने कलाकारहरुको बारेमा अहिले जानकारी गराईएको छैन।

Copyright © 2012 - 2026 | All Right Reserved.