‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक


काठमाडौं । आगामी कार्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत रिलिज गरिएको छ। ‘भगवान नै आमा हुन्’ बोलको यो गीत मंगलबार सार्वजनिक भएको हो, जसले आमाको प्रेम र त्यागलाई सजीव ढंगले प्रस्तुत गर्छ। सार्वजनिक गीतमा एक आमाले सन्तानप्रति गर्ने निःस्वार्थ समर्पण र संघर्षलाई भावनात्मक रूपमा उतारिएको छ।

सिनेमाका यसअघि रिलिज गरिएका गीत, टिजर र ट्रेलरले नै दर्शकको उच्च रुचि र प्रतीक्षा बढाइसकेको छ, जसमा विशेष गरी ‘उठेर नाचिस्यो’ गीतले दर्शकलाई मन्त्रमुग्ध तुल्याएको थियो। यो मर्मस्पर्शी गीतले सिनेमा प्रतिको कौतुहलतालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। गीतमा सत्यराज आचार्यको मनछुने गायन र बाबुल गिरीको गहन शब्द तथा संगीतले थप भावविह्वल बनाएको छ।

यो गीतमा अभिनेत्री विपना थापालाई आमाको भूमिकामा देख्न सकिन्छ, जसले आफ्नो सशक्त अभिनय मार्फत आमाको बलिदानी र ममताको भावलाई सजीव बनाएकी छन्। सफल अभिनेत्री थापा १३ वर्षपछि यस सिनेमाबाट पुन: नेपाली फिल्म क्षेत्रमा फर्किएकी हुन्, जसलाई दर्शकहरूले विशेष रुचिको रूपमा हेरिरहेका छन्।

नीता फिल्म्सको प्रस्तुतिमा बनेको यस सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्, भने चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ।

सिनेमामा हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त तथा हरिहरको पटकथा तथा संवाद रहेको छ भने अनुभवी बलिउड सिनेमाटोग्राफर कवीरलालले सिनेमाको दृश्यांकन गरेका छन्। यसलाई निर्देशक चन्द्र पन्तले निर्देशित गरेका छन्, जो यसअगाडि भोजपुरी सिनेमा र थुप्रै नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा आफ्नो नाम कमाइसकेका छन्। यो नेपाली सिनेमामा पन्तको पहिलो निर्देशन रहेको छ, जसले दर्शकहरूलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.