चलचित्र ‘कार्साङ’का अभिनेता जितुको नयाँ क्यारेक्टर लुक सार्वजनिक


काठमाडौं । चलचित्र ‘कार्साङ’का अभिनेता जितु नेपालको नयाँ क्यारेक्टर लुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले आजै यो लुक सार्वजनिक गरेको हो।क्यारेक्टरको लुक हेर्दा जितुले ‘कार्साङ’मा आफ्नो भूमिकामा गहिरो तयारी र मेहनत गरेको स्पष्ट हुन्छ।

जितु नेपाल कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट, र लेकमा प्रयोग हुने गमबुटमा देखिएका छन्। घुँडामा झोला अड्याउँदै, हातमा जाँड भएको अनुमान गरिएको कचौरो बोकेका छन्। पृष्ठभूमिमा देखिने घर, पहाड, र कुहिरोले उनी कुनै पहाडी गाउँका स्थानीय बासिन्दा हुन् भन्ने आभास दिलाउँछ।

सिनेमाको पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ भन्ने लेखिएको छ, जसले उनलाई मकै पिस्न घट्टामा गएका हुनसक्ने संकेत गर्छ। यो संवादले उनलाई कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान पनि गराउँछ, यद्यपि यसबारे निर्माण पक्षले स्पष्ट खुलासा गरेको छैन।

यसअघि अभिनेता दयाहाङ राईको क्यारेक्टर लुक सार्वजनिक गरिएको थियो। यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र पुस २६ गते प्रदर्शनमा आउने तयारीमा छ।

शेर्पा समुदायको संस्कृतिमा आधारित यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारहरूको अभिनय रहेको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमाका छायांकार र निर्माता पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा, र लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्।

चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्ट्सका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.