अमेरिकामा रहेका नेपालीको संघर्षको कथा ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक


काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइ र चुनौतीलाई पर्दामा उतार्ने चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंसिर ७ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले विदेशमा रहेका नेपाली परिवारका दुःख,आशा, र जटिलताहरूलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

ट्रेलरमा नेपाल र अमेरिकामा छुट्टिएका परिवारका सदस्यहरूले सामना गर्नुपरेका सामाजिक, आर्थिक, र भावनात्मक संघर्षलाई विशेष जोड दिएको छ। अमेरिकामा रहेका नेपालीको लागि घरपरिवार चलाउनुपर्ने चुनौती, कानुनी जटिलताहरू, र विदेश मोहले ल्याउने कठिनाइहरू ट्रेलरमा गहिरो रुपमा चित्रित गरिएको छ।

चलचित्रमा अभिनेता विपीन कार्कीले वृद्ध र जवान दुवै भूमिकामा अभिनय गर्दै पारिवारिक जिम्मेवारी, संघर्ष र सम्बन्धको धागोलाई पर्दामा उतारेका छन्। विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, र सुचित्रा उप्रेती लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। साथै, केही विदेशी कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन्, जसले कथालाई अझ वास्तविक बनाएको छ।

‘तेल भिसा’लाई शंकर घिमिरेले लेखन र निर्देशन गरेका हुन्। चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ भने कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल रहेका छन्।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्। सिनेमाको छायाङ्कन सुशन प्रजापतिले गरेका छन्। ‘तेल भिसा’को ट्रेलरले परदेशमा हुने नेपालीहरूका संघर्षलाई मात्र होइन, उनीहरूको साहस र पारिवारिक बन्धनलाई पनि मन छुने शैलीमा प्रस्तुत गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.