सिनेमा ‘सत्यवीर’ निर्माणको घोषणा


काठमाडौं। लक्ष्मीपूजाको अवसरमा नेपाली फिल्म ‘सत्यवीर’को निर्माण औपचारिक घोषणा गरिएको छ। गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म सामाजिक कथासँगै एक्सन थ्रीलर जनरामा आधारित रहनेछ।

फिल्मको फर्स्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ, जसमा कलाकार प्रदीप चौधरीलाई रगतले पोतिएको बञ्चरो हातमा लिएको आक्रामक भूमिकामा प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा धरहरासहितको काठमाडौं शहरले फिल्मको वातावरणलाई थप रहस्यमय र क्राइम थ्रीलर शैलीको बनाएको छ।

फिल्मको निर्माण आदेश सुब्बाले गर्नेछन्, भने निर्देशनको जिम्मेवारी एक दशकदेखि भिएफएक्स र एनिमेसनमा स्थापित विराज खड्काले लिएका छन्। खड्काले ‘स्टार वार्स’ र ‘लेगो’ जस्ता हलिउड फिल्महरूमा भिएफएक्सको अनुभव बटुलेका छन्। नेपालमा उनले ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’जस्ता फिल्महरूमा भिएफएक्स सुपरभाइजरको भूमिका निर्वाह गरेका छन्। ठुलो पर्दामा निर्देशनमा खड्काको यो डेब्यू हुनेछ।

खड्काले २१ औं शताब्दीको प्राविधिक क्षमतालाई नेपाली फिल्ममा उच्च स्तरमा प्रस्तुत गर्न ‘सत्यवीर’ निर्देशन गर्न लागेका हुन्। उनले यसअघिका म्युजिक भिडियो र सर्ट फिल्महरू पनि निर्देशन गरेका छन्। फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स प्रयोग गरेर तयार गरिनेछ भने बाँकी ६० प्रतिशत दृश्य काठमाडौं, चितवन, र तराई क्षेत्रमा छायांकन गरिनेछ।

फिल्मको कथा प्रदीप चौधरीले नै लेखेका हुन्। पोस्टरमा प्रस्तुत उनको आक्रामक लुक्सले दर्शकमा उत्सुकता जगाएको छ। फिल्ममा प्रदीप चौधरी र द्वन्द्व निर्देशक हिमाल केसीको सहभागिता पुष्टि गरिएको छ, तर अन्य प्रमुख कलाकारहरूको नाम निर्माण टोलीले हालसम्म गोप्य राखेको छ। निर्माण कम्पनीले तिहारपछि वर्कसपमा कलाकारहरूलाई परिचित गराउने जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.