दीपावलीमा चलचित्र ‘डोरी’ को घोषणा: हरर, थ्रिलर र कमेडीको नयाँ मिश्रण


काठमाडौं। जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’को निर्माण दीपावलीको अवसरमा घोषणा गरिएको छ। हरर, थ्रिलर, एक्सन र कमेडीको रोचक मिश्रणमा आधारित यो चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। लामाका लागि यो पहिलो फिचर फिल्म हो, यसअघि उनले थुप्रै लघु चलचित्र र वृत्तचित्रमा निर्देशन कौशल प्रस्तुत गरिसकेका छन्।

निर्देशक लामाले ‘डोरी’ले नेपाली चलचित्र उद्योगमा नयाँ शैली र कथा प्रस्तुत गर्ने बताएका छन्। यो चलचित्र एक संघर्षशील युवाको गहिरो कथामा आधारित छ, जो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिँदै एक कठिन चक्रमा फसेको छ। चलचित्रले हाँसो, त्रास, असफलता, र संघर्षलाई मनोरञ्जनात्मक तरिकामा प्रस्तुत गर्ने प्रयास गरेको छ।

चलचित्रको मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा देखिनेछन्। राज पौडेलले यस चलचित्रमार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछन् भने मुख्य नायिकाको छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

चलचित्रको लेखन स्वयं निर्देशक अरुण लामाले गरेका हुन्, जसलाई थप प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्। ‘डोरी’का निर्माता ‘मिस्टर एक्स’ हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। चलचित्रको सिनेमाटोग्राफी सौरभ लामाले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी राजु तामाङले सम्हाल्नेछन्।

‘डोरी’लाई सन् २०२५ मा नेपाली सिनेमाघरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ, जसले दर्शकलाई हरर र कमेडीको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.