जीवन पनि रंगीन क्यानभास हो : चित्रकार विष्णु


काठमाडौँ। चित्रकला विधालाई विश्वभाषा मानिन्छ, मान्नुको कारण यसलाई बुझ्न र बुझाउन कुनै भाषा आवश्यकता पर्दैन । चित्रकला त्यो विधा हो; जसमा सम्पूर्ण भाषा, संगीत र साहित्य अटाएको छ ।

चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङको माध्यमबाट क्यानभासमा उतार्ने काम चित्रकारले गर्छन् । परिकल्पनालाई क्यानसभामा चित्रण गरी विश्वसमाजलाई थप चिन्तनशील बनाइदिने कार्य कलाकारले नै गरिरहेका हुन्छन् ।

काठमाडौलाई कर्म थलो बनाएका चित्रकार विष्णु परियार लमजुङ जिल्लामा जन्मे र उतै हुर्के । आमा लालुमाया परियार र बुबा कृष्ण बहादुर परियारका तीन सन्तान मध्य दुई दिदी पछिको एक्लो छोरा हुन् ।

आफ्नो कलासृजनाले मुलुकमा ख्याती कमाउदै आएका विष्णु परियार सानैदेखी गुरुले बनाएको चित्र पुस्तकहरुमा भएका चित्र हेरेर स्केच गर्थे । त्यही प्रभावले अहिले उनको मुख्य पेशा नै चित्रकला बनेको छ । उनको चित्रमा रङको मीठो सौन्दर्य र त्यसको प्रयोग विधिमा परिपक्‍व कलाकारी साधना झल्किन्छ।
उनले कलाकारको भावलाई जीवनसंग जोड्दै भने, ‘जीवन पनि रंगीन क्यानभास हो, म सधैं यसमा रमाउने कोसिस गरिरहेको हुन्छु ।’

मुहार चित्र र प्राकृतिक कलामा अब्बल कलाकारका रूपमा लिइन्छ । “कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो” भन्ने परियारले सयौं भन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसक्नु भएको छ । उनका सृजनाहरु देशबिदेश पुगिसकेका छ्न भने नेपालका प्रतिष्ठित तारे होटल लगायत थुप्रै आर्ट ग्यालरिमा देख्न सकिन्छ ।