निर्देशक समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


काठमाडौं। बडादशैँको अवसर पारेर त्रयोदशीका दिन मंगलवार काठमाडौंमा आयोजित एउटा विशेष समारोहमा कलाकारहरुले वरिष्ठ निर्देशक यादव खरेलको हातबाट टीका ग्रहण गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुराँमा आयोजित यो विशेष समारोहमा चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष यादव खरेलदेखि वर्तमान अध्यक्ष दिनेश डिसीसम्मको उपस्थिति रहेको थियो ।

अहज स्वास्थ्य अवस्थाका बाबजूद निर्देशक समाजको अनुरोधमा फिल्मकर्मीहरुलाई दशैँको टीका–जमरासहित आशीर्वाद दिन समारोह उपस्थित भएका वरिष्ठ निर्देशक खरेलले आफ्नो सम्बोधनको क्रममा सबै फिल्मकर्मीहरुलाई दशैँको शुभकामना त दिए नै, नेपाली फिल्मको विगतका विभिन्न प्रसंगहरु स्मरण गर्दै यो क्षेत्रको विकासमा राजा महेन्द्रको योगदानसमेत स्मरण गरे । निर्देशक खरेलले विगतमा भारतमा कति अफ्ट्यारो गरि नेपाली फिल्मको प्राविधिक कार्य गर्नु पर्थ्यो भन्ने कुरा स्मरण गर्दै आज प्रविधिको विकास नेपाली फिल्म क्षेत्रले ठूलो फड्को मार्न सफल भएकोमा वधाइ समेत दिए ।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अध्यक्षको रुपमा कार्यभार सम्हालेको छोटो अवधिमै नेपाली फिल्म क्षेत्रका लागि विभिन्न सकारात्मक सुधारहरु ल्याउने कार्यको थालनी गरिसकेको जानकारी गराए । सरस्वतीनगरस्थित बोर्डको कार्यालयलाई अपाङतामैत्री, महिलामैत्री बनाएको जानकारी गराउँदै अध्यक्ष डिसीले फिल्म प्रदर्शनको मुखैमै आर्थिक अभावका कारण प्रचार–प्रसार गर्न असमर्थ भएका फिल्म निर्माताहरुका लागि बोर्डको ठूलो पर्दासहितको हल निःशुल्क उपलब्ध गराउने कार्यको थालनी गरिएको बताए ।

अध्यक्ष डिसीले आगामी वर्ष चलचित्र विकास बोर्डले २५ औँ वार्षिकोत्सव मनाउने क्रममा करिव चार महिनासम्म देशव्यापी कार्यक्रमहरु आयोजना गर्दै नेपालका गाउँदेखि शहरसम्मलाई नेपाली फिल्ममय बनाउने तयारी भैरहेको समेत घोषणा गरे । अध्यक्ष डिसीले त्यसका लागि लोकप्रिय कलाकारहरुको सहभागितामा देशैभरी रक्तदान कार्यक्रम, हाजिरीजवाफ, महोत्सव, नेपाली फिल्मका गीतहरुमात्र समावेश गरिने टेलिभिजन रियालिटी शो, वहस, छलफल, अन्तरक्रियादेखि नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व हुने शैलीमा १० रुपैयाँको हुलाक टिकट प्रकाशनसम्मको तयारी गरिएको घोषणा गरे ।

नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजनमा आयोजना गरिएको समारोहमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, सचिव देवेन्द्र पाण्डेको सक्रिय सहभागिता रहेको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको समेत सहभागिता रहेको कार्यक्रममा विशिष्ट फिल्मकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशक राजेन्द्र सलभ, अभिनेता सरोज खनाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, महिला निर्देशकहरु सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, अभिनेता धिरेन शाक्य, कलाकार श्रीदेव भट्टराई, कलाकार आरपी पन्त, निर्देशक सूर्य बोहरा, सुवास गजुरेल, कलाकार उत्तम केसी, सुनिल कटवाल, नारायण प्रधान, शिवहरी बैरागी, कलाकार मनोज अधिकारी,रामचन्द्र अधिकारी,गोपाल ढकाल, अभिनेता पूरन जोशी, निर्देशक रामशरण कोइराला, निर्देशक माधव खरेल, अभिनेत्री नेन्सी खड्का, गायक सुमित खड्का लगायत दर्जनौं कलाकार, प्राविधिक, निर्देशक तथा चलचित्र कलाकार संघका अधिकांश कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

समारोहमा उपस्थित सबै कलाकार तथा प्राविधिकहरुले लामबद्ध भएर निर्देशक यादव खरेलको हातबाट टीका, कलाकार रविन्द्र खड्काको हातबाट जमरा तथा निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुलीको हातबाट दक्षिणा ग्रहण गरेका थिए । दक्षिणा ग्रहण गर्ने अधिकांश कलाकारहरुले उक्त दक्षिणामा आफ्नो रुचि अनुसार केही रकम थप गरेर आयोजक संस्थालाई नै हस्तान्तरण गरेका थिए ।

‘बडादशैँको शुभकामना तथा चलचित्रकर्मीहरुबीच टीका ग्रहण गरौं भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले बताए ‘हामीले नेपालीहरुको महान पर्व विजया दशमीमा मात्र होइन शुभ दीपावली, न्यूदँया भिन्तुना तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्नसमेत यो कार्यक्रम आयोजना गरेका हौं । यसले हामी चलचित्रकर्मीहरुबीच आपसी भाइचारामा अभिवृद्धि गर्नेछ भने चाडपर्वलाई सांस्कृतिक रुपमा समेत मनाइन सकिन्छ भन्ने कुराको सन्देशसमेत फैलिने छ ।’