जितु विदेश जान लाग्दा नीति पुगिन् त्रिभूवन विमानस्थल


काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’ यतिबेला व्यापक प्रचार प्रसारमा लागेको छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको निर्माण टिमले क्लाइमेक्सको एक दृश्य आउट गरेर अर्को प्रचार गरिरहेको छ ।

सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ ।

दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के कारणले नेपाल छोडे भन्ने प्रष्ट खुलेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको पनि अभिनय छ ।