निर्माता राईले गरे आफ्नै गृह जिल्लामा रनिङ ट्रफी हस्तान्तरण


इटहरी । नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक तथा फिल्म निर्माता ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ का लागि रनिङ ट्रफी प्रदान गरेका छन् । आइतवार बेलबारी नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

राइका अनुसार उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन. बि. रुङमाहाङ राईको स्मृतिमा आफुसंगै परिवारका सदस्य पोपिराज राई, पबित्रा राई, सरला राई र नानू राईको तर्फबाट सौजन्य गरेको जानकारी गराए । ट्रफीमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै राईले यो ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गरिने आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई प्रमुख अतिथि रहेका थिए । उक्त ट्रफीलाई निर्माता राईको हातबाट अनावरण गर्दै आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तवा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईलाई हस्तान्तरण गरेका थिए । यो विशेष अवसरमा राईले आफ्नो जन्मथलोमा योगदान दिन पाउँदा गर्वको अनुभूति भएको बताए ।

‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी लक्ष्मी खेल मैदान लक्ष्मी मार्गमा असोज ११ गतेदेखि असोज १९ गतेसम्म संचालन हुनेछ । यस प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्नेछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.