हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक


काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।

विशेषतः सिनेमाको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता सिँढिमा रहेको छ। संवादको सिनेमामा महत्व अत्यन्तै ठूलो हुन्छ। संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्‍याउँने मात्र नभइ फिल्मको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न, र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गर्छ।

सुवेदी आफ्नो सिनेमा यिनै कुराहरु उजागर गर्न संवादमा विशेष मेहेनत गरेको बताउँछन्। सिनेमाको निर्देशक सँगै लेखकसमेत भएकाले सिनेमामा संवादलाई सरस बनाउने आफ्नो प्रयास आफूले गरेको उनको भनाइ छ।

‘मैले मेरो मनबाट लेखेको संवाद हो। सिनेमाको कथा गाँउदेखि सुरु भइ शहरसम्म पुग्नेछ। मैले यसमा गाउँले बोलीचालीदेखि शहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु। टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ।’, उनले भने।

सिनेमामा संवादले दर्शकलाई पात्रहरूसँग जोडने काम गर्छ । संवादले फिल्मलाई स्मरणीय बनाउन प्रभावशाली काम गर्छ भने कयैन अवसरमा सिनेमाका संवादहरु दर्शकको मनमा लामो समयसँग घर बनाएर समेत बस्छन्। तीमध्ये कति संवाद त दर्शकलाई यति मनपर्छन् कि आफ्नो दैनिक बोलीचालीमा समेत प्रयोग गर्ने गरेका थुप्रै उदाहरण छन्।

लक्ष्मणको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद एउटा त्यस्तै उदाहरण हो। यो संवादमाथि थुप्रै महिला तथा किशोरी दर्शकले टिकटक भिडियो, फेसबुक रिल्स तथा युट्यूब सट्सहरु बनाइरहेका छन्।

संवादको लोकप्रियताको असरले नै हुनुपर्छ। सुवेदीले सिनेमा रिलिजलाई लिएर दर्शकहरुले व्यग्रता व्यक्त गरिरहेको बताउँछन्। ‘धेरैले नेपाली समाजमा एउटा छोरीमान्छे खोटो सिक्का जस्तै भएको भन्दै व्यक्ति जीवन मुखरित भएको प्रतिक्रिया दिनुभएको छ’, उनले भने।
उनले ‘खोटो सिक्का’को सिनेमा परिवेश यसरी सुनाए।

‘यो संवाद सिनेमामा दिदीबहिनी घट्ट गएर फर्किदांको प्रसंगमा सिनेमामा पाउन सकिन्छ। बहिनीले अलमल गरेपछिको प्रसंगमा यो खोटो सिक्काको प्रसंग आउँछ र दिदीले सोध्छिन्- फेरि के भयो?। बहिनीले जवाफ दिन्छिन्- पैसा रहेछ तर खोटो रहेछ भनेर फाल्दिन्छिन्। सिक्का फालेपछि दिदीले बहिनीले फालेको सिक्का टिपेर हेर्छिन् र निराश हुन्छिन् अनि भन्छिन्- मजस्तै रहेछ् मै राख्छु भन्छिन्।’

यो संवादमा २५ हजार माथि टिकटक भिडियो बनेको लक्ष्मणले बताए। उनले पोस्टप्रोडक्सन र रिलिजको दौडधुपकाबीच भ्याएसम्मका टिकटक लगायतमा बनेका भिडियोहरु सेयर गर्ने गरेका छन्। उनका लागि यो किसिमको प्रतिक्रिया रिलिज अघिको शुभकामना-शुभेक्षा हुन्।

सिनेमाले कस्तो कुन स्तरको व्यापार गर्ला समयलाई नै छोडीदिएका छन्। तर अहिलेका प्रारम्भिक प्रतिक्रियाका यी भिडियो उनका लागि अनमोल छन्।
सिनेमाले नेपाली समाजमा छोरीछोरीमात्र हुनुमाथि समाजको दृष्टिकोण, नारी योनीमात्र इज्जतको पहरेदारका सूचकका रुपमा हेर्ने द्वेषी चरित्र र तिनले गर्दा छोरीहरुले भोग्नुपर्ने कुरालाई ‘सतीदेवी’मा सतीदेवि अधिकारी पात्रमार्फत पेस गर्ने सहास गरेका छन्।

दमदार संवादको प्रयोगले सिनेमाको कथा भन्दा पनि गहिरो सन्देश दिन सक्छ, सिनेम्याटिक प्रभावलाई अझ गहिरो र अर्थपूर्ण बनाउन सक्छ।
स्वयं दुई छोरीका पिता समेत रहेका ‘सतीदेवी’ निर्देशक सुवेदीको तेश्रो निर्देशकीय सिनेमा हो।

यसपटक उनी आफ्ना अघिल्ला दुई निर्देशनमा भन्दा यसमा बढी आशावादी छन्। अघिल्ला सिनेमामा व्यवसायिक्ता प्रभाव ज्यादा भएपनि यसमा उनले साहित्य समाजको ऐना हो भन्ने भनाइमा अनिभूत हुन खोजेका छन्। यसै कारणले हुनुपर्छ दुई सिनेमा महोत्सवमा लेखनसँगै उत्कृष्ट सिनेमा घोषित भइसकेको छ।
यसले पनि उनको हौसला बढाएको छ।

‘मनदेखि सिनेमा बनाएको छु। छोरीको बाबु हुनुको नाताले पनि होला। हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन। बोझमात्रै ठान्दै आइरहेको छ। कहिल्यै बोझ उठाउन सक्छन् भनेर हेरेको पनि छैन। कमजोर हुने तालिम मात्रै दिइरहेको छ’, सुवेदीले भने, ‘तालिम नै दिने हो भने बोझ उठाउने, स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिउ न। सबैकुरा सोच र अठोट न हो। मेरो सिनेमाले भन्न खोजेको नै यही हो। छोरी बुझौं, छोरी पुजौं। सिनेमाको पोस्टरमा मैले हाइलाइट गरेर लेखेको नै यही कारणले हो। कुरालाई कसरी र कस्तो प्रकारले लिने भन्ने न हो।’

लक्ष्मणको बुझाइमा फरक लिङ्गमा जन्मकै कारणले एउटा उचो अनि अर्को निचो हुनु भन्ने सामाजिक भाष्य नै गलत छ। आफ्ना संवादमा महिला, किशोरीले भिडियो बनाउनु पछाडिको मनोविज्ञान नै यही भाष्य हो जुन सर्वथा गलत छ।

नत्र त ट्रेलरको अन्त्यमा सतदेवीले ‘यो जुनी त यस्तै भो अर्को जुनी दिन्छौ भने हे ईश्वर मलाई छोरो बनाइदेऊ। म मेरो बाआमाको खुशी बन्न चाहन्छु ।’ किन भन्नुपर्थ्यो? मैले किन यो संवाद लेख्नुपर्थ्यो। लक्ष्मण प्रश्न गर्छन्।

त्यस्तै अर्को प्रसंगमा सतीदेवीकी आमा आफूमाथि परेको जसरी पनि छोरी पाउनैपर्ने पितृसत्तात्मक समाजको दबाबको पीडा पोख्छिन् – यसपाली पनि छोरो भएन भने तेरो बाले मलाई मार्छन् र टिजरको एक दृश्यमा मद्धपानका बेलामा मादकपदार्थको अन्तिम थोपा पर्दा खुबै बोलिने भट्टी संवाद ‘फेरि पनि तिम्रो छोरी नै हुने भो’ भन्ने संवादले छोरीको जन्मलाई हाम्रो समाजले कुन रुपले लिन्छ भनेर देखाउँछ।