सिनेमा ‘ह्रस्व दीर्घ’ को पहिलो गीत सार्वजनिक


काठमाडौँ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।

सिनेमाको यो गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्द रचना र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ सिनेमाको हाइप निर्माण गर्ने विश्वास टिमको छ । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।