‘नेपहपको श्रीपेच २’ को प्रशारण सुरु


काठमाडौँ। चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।

प्रतियोगिताका लागि ५ हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट ५ सय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो । कार्यक्रम हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रशारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।

‘नेपहपको श्रीपेच २’ को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माताको रूपमा रोशन कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडाको र महेश तामाङ “दोङ” रहेका छन् । यस अघि पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौँका मेयर बालेन साह पनि रहेका थिए । साथै मेन्टरको रूपमा पहिलो सिजनको विजेता भाईबर साइमन, भ्योमा र ‘याबी द गोट’ रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाएकी छिन् भने ब्रोड्कास्टिङ्ग पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ ।