‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने


काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम अडिसन हुँदैछ ।

ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाका अनुसार ७ देखि १८ वर्षसम्मका बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखि १८ वर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीहरुले करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम सञ्चालनलगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्’, उनले भने ।

प्रतियोगिताअन्तर्गत प्रथम अडिसन पश्चात प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा फिनाले हुनेछ । प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई वृहत र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’, अध्यक्ष तथा प्रबन्ध निर्देशक ओझाले भने ।

प्रतियोगिताका उपाधी विजेताले नगद २५ हजार, फस्र्ट रनर अपले १५ हजार र सेकेण्ड रनर अपले १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट र अन्य पुरस्कार पाउनेछन् । विजेताले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम ‘सचेतना’मा बालबालिका ‘विशेष एपिसोड’ सञ्चालनको अवसर पाउनेछन् ।