निर्देशक राजुको करियरकै फरक कन्टेन्ट सिनेमा ‘ईश्वर’


काठमाडौं । निर्देशक राजु गिरी निर्देशित सिनेमा ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो सिनेमा बनेको दाबी गर्छन् ।

राजुका अनुसार सिनेमाको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले धार्मिक कुरालाई उठान नगरेको बताउँछन् । ‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ’, राजु भन्छन् ।

राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ । ‘पेशाबाट ऊ अलग्गिए पनि गाउँमा उसले बर्दी बिनाको प्रहरी भएर काम गर्छ । उसले गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ’, राजुले भने ।

राजु कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो फिल्महरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन् । ‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा यसमा छ’, राजु भन्छन्, ‘ईश्वर जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ । त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ ।’

फिल्मको केही महिना अघि पोखरामा प्रिमियर गरिएको थियो । फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि आएका थिए । ‘उहाँ पाँच मिनेटका लागि मात्र फिल्म हेर्न आउनु भएको थियो । तर पुरा फिल्म हेरेर जानुभयो । फिल्मको कथावस्तु आफूलाई मनपरेको बताउनुभयो’, राजुले सम्झिए ।

राजु ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने बताउँछन् । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ’, उनी भन्छन्, ‘मलाई यस्तो कन्टेन्टमा फिल्म बनाउन सकें भनेर गर्व लागिरहेको छ ।’

देशलाई माया गर्ने दर्शकहरुले ‘ईश्वर’ हेर्नुपर्ने निर्देशक राजु दाबी गर्छन् । ‘फिल्म हेरिसकेपछि दर्शकले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गरौं, समाज रुपान्तरण गरौं भन्ने सन्देश पाउँछन् । फिल्मले जो नेपाली हो, नेपालीले आफू नेपाल बनाउन र बचाउन सक्नुपर्छ भन्ने सन्देश दिन्छ’, उनले भने ।