काठमाडौँ। शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’ को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।
सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै ‘तेल भिसा’ लाई सफलताको शुभकामना समेत दिएकी थिइन् ।
यो सिनेमाबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । यो सिनेमामा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् ।
सिनेमामा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।