‘म काम माग्न कतै पनि गइनँ,इश्वर को अफर स्वीकार गरें’ : पृथ्वीराज


काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् ।

‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको फिल्म हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ ।’

‘ईश्वर’मा काम गर्दा आफूलाई राम्रो अनुभव भएको पृथ्वीराजको बुझाई छ । ‘यसअघिका फिल्ममा जति मेहनत गर्नु परेको थियो, यो फिल्ममा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर फिल्ममा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन् ।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका फिल्ममा निभाएका थिएनन् । ‘यो क्यारेक्टर यसभन्दा अघि मैले फिल्ममा गरेको थिइनँ । क्यारेक्टरको लागि तयारी केही गरिएन । घरमै थिएँ । निर्देशक राजु गिरीले फोन गर्नुभयो । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, पृथ्वीराज भन्छन् ।

पृथ्वीराजका अनुसार फिल्म ‘डोली’ पछि उनलाई कुनै फिल्मबाट पनि अफर आएन । ‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।

पृथ्वीराजलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा रहेछ । ‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।