अन्तरजातीय प्रेमकथा ‘ईश्वर’ टिम पोखरामा


काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । कार्यक्रममा फिल्मका कलाकार माओत्से गुरुङले फिल्मका निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको फिल्म प्रतिको मोहलाई अहिले आएर ‘ईश्वर’मा पुरा गरेको बताए ।

राजु गिरी निर्देशित फिल्म दर्शकले मनपराउनेमा कलाकार गुरुङ आशावादी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए । उनले फिल्ममा पहिलो पहिलोपटक लगानी गरेको बताए । फिल्म राम्रो बनेको दाबी गर्दै उनले वर्षमा दुईटा नभए एउटासम्म फिल्म निर्माण गर्ने योजना रहेको सुनाए ।

कास्कीको माछापुछ्रे गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको फिल्म खासगरी अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

‘अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा हो,’ कलाकार माओत्सेले भने । फिल्मकी नायिका कृस्टि गुरुङको लागि नेपाली फिल्ममा यो डेब्यु हो । त्यसो त उनले पहिले नै गुरुङ फिल्म खेलिसकेकी छन् । ‘फिल्ममा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ–आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’

सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’

अर्की कलाकार कुविना गुरुङले फिल्मको कथाबारे बोल्दै आफ्नो जातीय परम्पराअनुसार मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने नभई उनीहरुले चाहेको खुसी अनुसार विहे गर्न सक्ने बताइन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीले पोखरेलीले यति ठूलो रकम फिल्ममा लगानी गरेको भन्दै फिल्म हेरेर साथ दिन आग्रह गरे । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका सहसचिव शंकर तिवारीले गरेका थिए ।

फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङका अलावा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन् । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.