‘सिनेमा’ ईश्वरबाट आशावादी अभिनेता ध्रुव


काठमाडौं । अभिनेता तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् ।

फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र अभिनेता दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् ।

फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी छन् । ‘कामको संख्याका आधारमा मसँग काम गर्ने कलाकारहरु सिनियर हुनुहोला । तर समय र अनुभवले म आफूलाई जुनियर मान्दिनँ । किनकी एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुभेको छु’, उनी भन्छन्, ‘फिल्ममा स्थापित कलाकारहरुसँग काम गर्न निकै सजिलो भयो । म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेन । केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै कलाकार भन्न रुचाउँछु ।’

ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतीमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गरे । ‘मैले विभिन्न स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म, टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय पनि गरें । म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराए । अहिले सबै कुराको एडजस्ट भएको छ । त्यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु ।’

ध्रुवले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’लगायत दर्जनौं सिरियलमा अभिनय गरेका छन् । उनले २५ वर्षअघि ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ निर्माण गरेका थिए । तर दुवै सिर्जना दर्शकमाझ आउन सकेन । ध्रुव फिल्म, नाटकमा अभिनय गर्न निकै ‘इन्जोय’ अनुभव गर्छन् ।

फिल्म ‘ईश्वर’ प्रति उनी निकै उत्साहित छन् । ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निभाएको छु । त्यसकारण दर्शकको माया पाउनेमा विश्वस्त छु’, उनी भन्छन् ।

पोखरामा जन्मिएका ध्रुवले कलाकार माओत्से गुरुङसँगै रंगमञ्चबाट काम सुरु गरेका हुन् । आफू माओत्से जस्तो स्थापित हुन नसके पनि त्यो स्थानमा पुग्न संघर्षरत रहेको उनी दाबी गर्छन् । कविता, गीत, गजल लेख्न रुचाउने ध्रुवले बर्षमा दुईवटा नेपाली फिल्म निर्माण गर्ने अठोट लिएका छन् । ‘त्यसको सुरुवात ईश्वरबाट गरेको हुँ’, उनी भन्छन् । उनले लेखेका चारवटा गीत युट्युबमा यसअघि नै आइसकेका छन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।