‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’ को शुभारम्भ


काठमाडौँ। थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’को सुरुवात भएको छ । नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त कार्यक्रम जुलाई ७ तारिखबाट भव्यताका साथ सुरुवात गरिएको छ । यो महोत्सव जुलाई २० तारिखसम्म चल्नेछ । आज राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्म फेस्टिभलको बारेमा जानकारी दिईएको छ। पत्रकार भेटघाटमा नेपालबाट बेलायत जाने कलाकारहरुको बारेमा पनि जानकारी दिइयो।

लामो समयदेखि नेपाली चलचित्रसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो चलचित्र महोत्सवमा पाँचवटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् ।

जुलाई २० तारिखमा हुने यस महोत्सवको समापन समारोहमा नेपालबाट १४ जना चलचित्रकर्मी एवं कलाकर्मीहरु शम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप साही, दिया पुन, शर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता रहनेछ ।

महोत्सवमा प्रदिप शाहिको लेखन तथा निर्देशन रहेको चलचित्र ¨अन्तिम संस्कार’’ र विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र ¨हल्कारा’’ प्रदर्शनका साथ भएको छ । त्यस्तै जुलाई १४ तारिखमा देव थापा निर्देशीत चलचित्र ¨टुल्की’’ र सुदर्शन थापा निर्देशित चलचित्र ¨प्रसाद २’’ प्रदर्शन हुनेछ ।

यो महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी वजार समेत विस्तार हुने बताइएको छ ।

यो महोत्सवको समापन समारोहमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दिर्घ साधना सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड) द्धारा सम्मान गरिने थर्ड आईको निर्णय रहेको छ ।