क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदीप र मिरुना उत्कृष्ट


काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता बन्दा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिवलमा बेष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, बेष्ट माउन्टने फिल्म ‘प्रेम गीत ३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्बाेत्कृष्ट अन्तराष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्यो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए । महोत्सवमा एक वटा फिचर फिल्म प्रेमगीत ३, दुई वटा छोटो चलचित्र र एउटा क्यानेडियन शर्ट फिल्म प्रदर्शन गरिएको थियो।

पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित वा ति विषयवस्तु समेटिएका चलचित्रहरु मात्र फेस्टिवलमा सहभागी गराइएको फेष्टिभवलका अध्यक्ष तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।

चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेष्टिवलेले नेपाली कलासंकृति तथा पर्यनटका विकास बिस्तारमा टेवा पुग्ने फेष्टिवलका निर्देशक अरुणकुमार प्रधानले बताए ।