सङ्गीत दिवसमा अन्तरक्रिया,सङ्गीत भित्रका छाडा सङ्गीत रोक्न सुझाव


काठमाडौँ। अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने गरी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व सङ्गीत दिवसका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले अहिलेको अबस्थामा सङ्गीतलाई छुटाएर मानव जीवन पूर्ण हुन नसक्ने तर्क गरेका हुन् ।

सन् १९८१ जुन २१ मा फ्रान्सबाट सङ्गीत दिवस मनाउन थालिएको हो । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सांसद एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्तीले नाच, गान, बाजाका धुन प्रतिविम्बित ध्वनी र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा नै सङ्गीत भएको र यो मानव जीवनका लागि महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले नेपालमा सङ्गीत अनियन्त्रित हुने क्रममा देखिएको भन्दै प्रतिष्ठानले प्रतिष्ठानले नियन्त्रित गर्नै प्रयास गरिरहेको उल्लेख गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले विद्यालयस्तरका पाठ्यक्रममै अनिवार्य शिक्षाका रुपमासङ्गीतलाई राख्नुपर्नेमा जोड दिँदै सङ्गीतलाई युग सुहाउँदो बनाउनुपर्ने बताए ।

गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले ठाउँ, परिभेष र शब्द अनुसार सङ्गीत प्रस्तुत गर्नुपर्ने बताउँदै भन्नुभयो, “माया प्रेमका मात्रै होइन समाज परिवर्तन गर्ने हो भने चेतना र रुपान्तरणकारी तथा ज्ञानका गीत पनि जरुरी देखिएको छ ।”

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं सङ्गीत विभाग प्रमुख कर्ण गौतमले सङ्गीत मानिसको अभिन्न अङ्ग भएको स्मरण गर्दै विरामी हुँदा उपचारका लागि, दुख विसाउनका लागि पनि सङ्गीतको प्रयोग भइरहेको बताए ।

प्रतिष्ठानका सदस्यसचिव कुष्मा महरा प्रगतिले अन्तरक्रियामा महत्वपूर्ण सुझाव आएको र त्यसलाई व्यवहारमा लागू गर्न प्रतिष्ठानले प्रयास जारी राख्ने बताइन् ।

कार्यक्रममा पूर्वप्राज्ञ माधव प्रधान, जनसाँस्कृतिक महासंघ नेपालका उपाध्यक्ष डम्बर रोकाया, प्रगतिशील गायक हेमराज आश्रम, गायक झंक बुढा मगर, गायिका निलिमा पुनलगायतले धारणा राखेका थिए ।