‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा


काठमाडौं। उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम आजैदेखि खुला गरेको जनाएको हो ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने– ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् ।’

उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा रहेका छन् ।

पत्रकार सम्मेलनमा पेजेन्ट तथा शो डाइरेक्टर प्रशान्त ताम्राकारले प्रतिभावान तथा क्षमतावान युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

यो सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक युवतीहरुले यही असार ३१ गतेभित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । १९ वर्षदेखि २९ वर्ष उमेर समुहका अविवाहित तथा कम्तिमा पाँच फिट तीन इन्च अग्ला युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्, यद्यपि त्यसका लागि आयोजक संस्थाले निर्धारण गरेका नियम तथा शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

मिस ग्राण्ड नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी अगामी अगष्ट २४ ९भदौ ११ गते० का दिन आयोजना हुनेछ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले क्राउन अनभिलिङ गर्ने बताइएको छ । यसपटक अपाला ज्वेल्सले मिस ग्राण्ड नेपालको क्राउन तयार पार्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि उमंग क्रिएशनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने छ । तियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनले अघिल्लो वर्ष आयोजना गरेको मिस यूनिभर्स नेपाल २०२३ का विजेता तथा मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै विश्व प्रसिद्ध हुन सफल जेन दिपिका ग्यारेट पनि सहभागि भइन् । उनले ‘मिस ग्राण्ड नेपाल २०२४’ मा सहभागि भएर आफू भित्र भएको प्रतिभालाई उजागर गर्ने मौकालाई सदुपयोग गर्न युवतीहरुलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा द ब्यूटी बारकी प्रवन्ध निर्देशक तथा आयोजक संस्थाकी सदस्य इच्छा कार्की तथा अपाला ज्वेल्सकी स्टोर मेनेजर दिक्षान्सु कार्की उपाध्यायले ‘मिस ग्राण्ड नेपाल २०२४’ को प्रभावकारिताका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

तस्विर: राज थापा