घरज्वाइँ’को गीत ‘बिन्जुरी’ रिलिज


काठमाडौँ। हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत रिलिज भएको छ। शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो।

गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ।
प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। भिडियोमा दया र मिरुनाको प्रेमरसायन ताजगीपुर्ण लाग्छ।

गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो। अनिल बुढामगर सिनेमाका निर्देशक हुन्। सिनेमा असार २८ गते रिलिज हुँदैछ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्।
पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सिनेमा सुसन प्रजापतिले खिचेका हुन ।

‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमामा एसडी योगी तथा राम अविरल विष्टका अलावा हर्क साउद गीत र मनोज थापाको समेत संगीत रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.