दोहोरीमा देखिएको विकृति अन्त्य गर्न प्रतिष्ठानले गरायो गृह मन्त्रीको ध्यानाकर्षण


काठमाडौँ । प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गृह मन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिष्ठानकी अध्यक्ष रीता थापा, गायक बद्री पंगेनी, पशुपति शर्मा सहितको एक टोली मन्त्रालय पुगेर यस विषयमा मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्‍याउने खालको हुँदै गएको, दोहोरी र्याप र ब्याटलको नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छोडिएको, मेला–महोत्सवमा समेत उच्श्रृंखल र अमर्यादित गीत संगीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न भरिएको छ ।

प्रतिष्ठानको टोलीसँगको भेटमा गृहमन्त्री लामिछानेले ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक रहेको बताए । ‘स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन्’, मन्त्री लामिछानेले भने, ‘कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरूले निजको भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ । समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।’ मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै मन्त्री लामिछानेले नियन्त्रण र नियमनबिचको अन्तर पनि बुझ्नुपर्नेमा जोड बताए । ‘लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा म संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने÷गराउनेछु’ मन्त्री लामिछानेले थपे ।

केही दिन अगाडि प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यलाई प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरेको पाइएमा संघको सुविधा र सदस्यबाट बाहिर राख्ने चेतावनी पनि दिएको थियो ।