सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक


काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको छ । सिनेमाका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्या पछि उनको हत्याको बदला लिन पुजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको सिनेमामा पूजा शर्मा,कुन्साङ बोमजम,किरण श्रेष्ठ,विशाल पहाडी, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

रुपेश तामाङ निर्देशित सिनेमामा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । सिनेमामा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सिनेमामा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।