किम्फको २१ औं संस्करण आजदेखि सुरु


काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण आजदेखि सुरु भएको छ । अपरान्हदेखि राष्ट्रिय सभागृहमा सुरु भएको फेस्टिभलमा सहभागी हुन १५ भन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् । विश्व सगरमाथा दिवसको अवसरमा सुरु भएको फेस्टिभलमा इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियर गरिएको छ ।

बुधबार नै देवेन्द्र खत्रीको ४३ मिनेट लामो फिल्म ‘नेपाली फिक्सन’को वर्ल्ड प्रिमियर भएको छ । सचिन राना निर्देशित ३२ मिनेटको फिल्म ‘कुलैं तौल कुछ नि जमदु’को भारतीय फिल्मको एसिया प्रिमियर भयो ।

फेस्टिभलमा स्क्रिनिङ हुने ६० फिल्ममध्ये ४० फिल्मको निर्माण महिलाले गरेका हुन् । यो संस्करणमा २२ देशका ६० भन्दा बढी फिल्म स्क्रिनिङ हुनेछन् । पहिलोपटक गर्मीयाममा किम्फ आयोजना गरिएको हो । दिन लामो हुने र दर्शकलाई सहज पनि हुने भएकाले गृष्मयाममा फेस्टिभल गरिएको आयोजक किम्फ फाउण्डेसनका सदस्य शेखर खरेलले जनाए ।

२० जेठसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फेस्टिभल आयोजना हुँदैछ । यस वर्षको किम्फको नारा ‘इकोज अफ चेन्ज’ राखिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् ।

निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।