चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ देखि


काठमाडौं । चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची पनि सार्वजनिक गरियो । तीनदिने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा १२ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा सहभागिता जनाउने फिल्मलाई विभिन्न आठ विधामा पुरस्कृत गरिने भएको छ ।

उत्कृष्ट फिचर फिल्मलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार र उत्कृष्ट छोटो फिल्मलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । पब्लिक च्वाइस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ दिइने भएको छ ।

फेस्टिभलमा लिम्बू भाषाको फिल्म ‘सुगुप’, तामाङ भाषाको ‘दार्वुङ’, गुरुङ भाषाको ‘मार्कली’, मगर भाषाको ‘रोस’, थारु भाषाको ‘जितिया २’, राजवंशी भाषाको ‘मोख’, भुजेलको ‘जन्मदेखि मृत्युसंस्कार’, प्रतिष्ठानका चार फिल्म र नर्वेको फिल्म ‘इन्डिजिनियस पुलिस’ स्क्रिनिङ हुने भएका छन् ।

फेस्टिभलमा आदिवासी मौलिक खानाको स्टल, आदिवासी भेषभूषा, फोटो प्रदर्शनी, आदिवासी र्‍याम्प वाक, विभिन्न जातिको झाँकीका साथमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने जनाइएको छ ।