‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो : जसिता


काठमाडौं । सिनेमा ‘ज्याकीः आई एम २१’ पछि अभिनेत्री जसिता गुरुङ सिनेमा ‘फर्की फर्की’बाट दर्शकमाझ आगामी जेठ १० गतेबाट आउँदैछिन् । सिनेमा उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मनपराउँथिन् र सम्मान गर्थिन् । अहिले उनै अनमोलको प्रेमिका भएर सिनेमामा देखिँदैछिन् ।

‘सुरुमा सिनेमाको कन्सेप्ट आउँदा म उत्साहित थिएँ । अनमोलसँग काम गर्न पाउँदा झन खुशी थिएँ । यसअघि एक सिनेमाका लागि अनमोलसँग काम गर्न अनुबन्धित भएकी थिएँ । तर सिनेमा बनेन । हामीलाई जोडी बन्न ‘फर्की फर्की’ले पर्खिएको रहेछ’, जसिता भन्छिन्, ‘अनमोलप्रति मेरो रेस्पेक्ट पहिला जस्तो थियो, अहिले पनि उस्तै छ । कलाकारको रुपमा उसँग स्क्रिन शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।’

जसिताले कमैमात्र सिनेमामा अभिनय गरेकी छिन् । तर उनी आफूलाई ‘चुजी’ मान्दिनन् । ‘स्क्रिप्ट आउँदा सकेसम्म आफ्नो पात्र नै हेर्छु । उसको चरित्र कस्तो छ, थाहा हुन्छ । अहिलेसम्म मलाई जति अफर आए, कुनैमा स्क्रिप्ट नमिल्ने त कुनैमा समय नमिल्ने थियो । त्यसैले धेरै फिल्महरु मैले छोड्नु पर्यो,’ जसिता भन्छिन् ।

जसिताले सिनेमा ‘फर्की फर्की’मा साइरा गुरुङको भूमिका निभाएकी छन् । जो मिक्सोलोजिस्ट अर्थात् इभेन्टमा ‘ड्रिङ्क्स अर्गनाइज’ गरेर बनाउने काम गर्छिन् । ‘म यूकेबाट नेपाल आएकी हुन्छु, ऊ अलिकति रिजर्भ र सफल तथा सिम्पल छ । बाहिर म अलिकति लाउड जस्ती देखिए पनि सिनेमामा त्यो देखिँदैन’, उनी भन्छिन् ।

जसिताको बुझाईमा ‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो । ‘जसरी खानामा भेराइटी हुन्छ, फूलको बुकीमा पनि धेरै फूल हुन्छन्, फर्की फर्की त्यस्तै हो । यसमा कमेडी, रोमान्स, फेमिली ड्रामा, जीवनमा आवश्यक पर्ने माया, सम्बन्ध, साथीत्वको कुरा सबै छ । टाइम ट्राभलमा बनेको फिल्म भएकाले दर्शकले इन्जोय गर्छन्’, उनले उनले भनिन् ।

उनले म्याडी अर्थात अनमोलको चरित्रले फिल्मको सन्देश दिने बताउँछिन् । ‘जीवनमा राम्रो काम गर्दै गइयो भने जीवनको अन्त्य ढिलो चाँडै राम्रो हुन्छ भन्ने सन्देश फिल्ममा छ’, जसिता भन्छिन् ।