‘नेपाल फेसन फेस्टिभल–२०२४’ जेठ ११ देखि १३ गतेसम्म


काठमाडौं। ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गते देखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।

यो वृहत महोत्सव आगामी जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गर्न लागिएको बताएका छन् । ताम्राकारले फेसन नेटवर्क नेपालले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभल–२०२४ आयोजना गर्न लागेको बताएको हो ।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो फेस्टिभलको अधिकांश तयारी पुरा भइसकेको आयोजक संस्थाले जनाएको छ ।

नेपालको फेसन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धि बनाउन, फेसन, ब्यूटी, जीवनशैली तथा कलालाई अर्थपूर्ण रुपमा सहकार्य गराउने उदेश्यले नेपाल फेसन फेस्टिभल–२०२४ आयोजना गर्ने निर्णय गरिएको हो । यो फेस्टिभल फेसन, ब्यूटी, लाइफ स्टायल र आर्टको समिश्रण हुनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.