सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा ढुक्क ‘खजुरे ब्रो’ निर्माता तथा कलाकार नविन


काठमाडौँ। भनिन्छ जीवनमा धेरै कुराहरु संयोगले जुराइदिदैं लान्छन्। ‘खजुरे ब्रो’का निर्माता-अभिनेता नविन मानन्धरको हकमा पनि नेपाली रजतपटक प्रवेश संयोगहरुकै देन भयो।
नविनलाई अभिनयको हुटहुटी त थियो तर त्यो एकदमै गम्भिर पनि थिएन।
स्कूले जीवनमा नविनको सक्रियता स्कूलका नाटकहरुमा थियो। त्यो तीब्र चाहाना भन्दा पनि रहरका उपजहरु थिए।
साथीभाइहरुमाझ हाँसो ठट्टा र रमाइलोका लागि नविन अग्रपंक्तिमा पर्थे। यसो हुँदाहुँदै साथीहरुलाई हसाउन सक्ने आफ्नो शैलीका कारण उनलाई टेलिभिजनबाट प्रसारित हुने ‘तीतो सत्य’, ‘जिरे खोर्सानी’, ‘मेरी बास्सै’ आदिहरु हेर्दाचाँहि ‘एकचोटि मात्र भएपनि टिभीमा आफू देखिन पाएहुन्थ्यो नि’ भनेर नविन कल्पिन्थे।
उनले सम्झिए- पछि कहाँकहाँबाट सिनेमा खेल्दै सिनेमा बनाउने अवस्थासम्म आइपुगे।

*
यी सबै संयोगले जुर्‍यो नविनलाई।
अहिले ‘खजुरे ब्रो’मा कार्यकारी निर्माता रहेका डायमण्ड उप्रेतीसँग नविनको चिनजान थियो। डायमण्डले एउटा ‘द ट्रिप’ भन्ने स्टुडेन्ट प्रोजेक्ट गरेका थिए। सो प्रोजेक्टमा मोटो जिउडालका नविनले ‘मोटे’ नामको पात्रमा अभिनय गर्न मौका पाए।
डायमण्डको प्रोजेक्टमा जीवन अधिकारी पनि थिए। पछि उनी ‘षडङ्ग’मा कास्टिङ डाइरेक्टर बने।
जीवनले सो सिनेमामा ‘भालु डन’ पात्रका लागि अभिनेता दयाहाङ राईलाई ‘एक्टर्स पुल’को पहिलो प्राथमिकतामा राखेका थिए।
विविध कारणले दयाले यो सिनेमामा खेलेनन्। कलाकारको खोजीमा रहेका जीवनले नविनलाई सम्झिए र अडिसनका लागि बोलाए।
भित्रभित्रै अभिनयको रहर पालिरहेका नविनले यो प्रस्ताव नकार्ने कुरै थिएन।
नविनले अडिसन दिए।
‘तीन जना अडिसनमा आएका थिए, म छनौटमा परें’, नविनले खुशी हुँदै भने।
छनौट भएका नविनलाई निर्देशक सुरज सुनुवारले थप अभिनय सिक्नु भने।
त्यसपछि नविनले अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महिना अभिनय सिकें।
‘त्यहाँबाट मेरो अभिनय यात्रा सुरु भयो’, नविनले अभिनय यात्राको सम्झना गरे।
रहर पुर्‍याउन सिनेमा खेलेका नविनलाई आफूले अभिनय गरेको पात्रले आफूलाई कलाकारको परिचय देला भनेर नसोचेको बताए।
‘कहाँबाट हुनु मलाई त रहर मात्र हो नि, रहर मात्र पुर्‍याउँछु भनेको ढुङ्गा खोज्दा देउता पाएजस्तो भयो। यसो टेलिफिल्ममा मात्र अनुसार देखाउन भन्ने थियो त्यो पनि यस्सो रहर मात्रैका लागि गर्न खोजिरहेको मान्छे’, उनले दंग पर्दै भने,’मैले त फिल्म नै पाएं। मलाई यस्तो प्रमोशन आदिको मतलबै थिएन नि । अभिनय पनि आफूले जानेको सकेको गर्दिएं। तर मान्छेले त्यसैलाई मनपराइदिनुभयो। मलाई सिने नगरीले तानेर ल्यायो- ल है गर्नुपर्छ भनेर।’
रिलिजपछि सिनेमाले आशातीत व्यापारिक प्रदर्शन गर्न नसकेपनि नविनले अभिनय गरेको ‘भालु डन’ पात्रले चर्चा बटुल्यो। उनको काम मानिसले ‘नोट’ गरे।
‘भालु डन’कै कारण उनले पशुपतिप्रसादमा काम पाए। सानो भूमिका भए पनि उनले असर छोडे।
यी दुई सिनेमाको कामले मेकरको नजरमा परेको नविन बताउँछन्।
त्यसपछि सुदर्शन थापाको ‘म यस्तो गीत गाँउछु’ पनि खेले।
यस्तैमा उनलाई ‘प्रसाद’ सिनेमामा काम गर्ने प्रस्ताव आयो तर विविध कारणले उनले यो सिनेमाको सट्टा अष्ट्रेलिया रोजे। सो भूमिकामा पछि निश्चल बस्नेतले अभिनय गरे।
‘म अस्ट्रेलिया नगईनहुनी भएर छोडेको हुँ। निश्चलजीले सो भूमिकामा सार्है राम्रो काम गर्नुभयो’, नविनले भने।
अष्ट्रेलिया रहँदा नै ‘लप्पन छप्पन-२’ गरेपनि विविध कारणले बिचमै छाडे।
उनी अष्ट्रेलियामा व्यवसाय गर्न थाले।
व्यवसायमै रमिरहँदा पनि उनी आफूलाई सिनेमामा डेब्यूको मौका दिने सुरज सुनुवारसँग सम्पर्कमै थिए।
उनीहरुबिच नयाँ सिनेमा बनाउनेबारेमा विविध छलफलहरु चलिनै रहेको थियो। यसबीचमा नविन काममा व्यस्त भए त कहिले कोरोना कहरले सिनेमाका कुराहरु अगाडि बढ्ने वातावरण पनि भएन। पछि वातावरण सहज हुन थालेपछि नयाँ सिनेमा बनाउने छलफल उनीहरुबिच चल्न थाल्यो।
‘हामीले षडङ्ग-२ बनाउने कि भनेर पनि छलफल गर्यौं। अब फ्लप सिनेमालाई किन सिक्वल गर्नु भन्ने कुरा भयो। ल त होस् न त ठिकै छ, बनाउन त बनाउने तर पछि बनाउने कुरा भयो। पछि ‘ज्याद्रो’ नामको सिनेमा बनाउने भन्ने कुरा भयो, त्यसको बजेट धेरै निस्कियो’, नविनले ‘खजुरे ब्रो’ बन्नुअघिका घटनाक्रम सम्झिए।
३०-४० वर्ष अगाडिको सेटिङमा कथा भन्नुपर्ने भएकाले त्यसको बजेट निक्कै बढि निस्किएकाले स्थगीत भयो।
यस्ता छलफलका बिच ‘खजुरे ब्रो’को कुरा निस्कियो। सुन्दा नविनलाई रमाइलो लाग्यो, अनि बजेटको पनि समस्या नहुनेभएपछि नविन निर्माता बन्न कस्सिए।
‘त्यसरी दौडिएको, दौडियादौडियौं भयो, अब त सिनेमा रिलिज हुनै लागेको छ’, नविनले भने।
प्रेम, पैसा र सहकारी ठगीको सेरोफेरोमा घूमेको ‘खजुरे ब्रो’ सिनेमामा आफूले गरेको कामबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वासमा आफू रहेको नविन बताउँछन्।
सिनेमाको निर्माता पनि भएकाले उनी आफ्नो भूमिकामात्र होइन संमग्र सिनेमाले नै दर्शकको मनजित्ने आशामा छन्।
‘खजुरे ब्रो’मा उनी नकारात्मक भूमिकामा छन्। यो भूमिका बन्दुक बोक्ने, मान्छे पिट्ने भन्दा केही फरक छ। समाजमा हेर्दा सुकिलामुकिला र भित्रभित्र मैला काम गर्ने खलचरित्रका मान्छेका रुपमा नविन पर्दामा पेस हुनेछन् ।
सिनेमामा अहिलेको ‘हटकेक’ सहकारी ठगीका विषय भएकाले पनि सिनेमा दर्शकका लागि रुचिकर हुने उनको विश्वास छ।
यो सिनेमामा निर्माता र अभिनेता एकसाथ गर्नुपरेकाले खटाइ र घोटाइ नविनलाई ज्यादा भयो यसपटक। त्यसैले नविनले अब एकसाथ निर्माण र अभिनय नगर्ने सोच बनाएका छन्।
उनी आफ्नो सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा ढुक्क छन्। जस्तो सिनेमा बनेको छ त्यसबाट निर्माताका रुपमा नविन खुशी देखिन्छन्।
भन्छन्- चल्यो भने ‘लुट’ जसरी चल्छ, चलेन भने पनि ‘ऐना झ्यालको पुतली’ जस्तो हुन्छ। फिल्म त्यस्तो राम्रो छ तर चलेन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.