नवीन सुब्बाको सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक


काठमाडौं । नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा सडक पुग्दाको खुसी समेटिएको छ । टिजरले सिनेमाको सारांश बुझाउने प्रयास गर्दै परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष सिनेमाको कथा भन्ने संकेत गरेको छ ।

सिनेमाको टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले सिनेमाले गाउँमा गाडी सँगै धेरै कुरा आएको र त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको पनि बताए । ‘गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो । त्यसले गाउँबाट धेरै कुरा लग्यो होला भन्ने लाग्छ,’ उनले भने, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने प्रयास गरेको छ । गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन यो सिनेमाले भन्नेछ ।’

उनले विश्वका धेरै महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको सिनेमाले अब स्वदेशी दर्शकको पनि माया पाउनेमा अपेक्षा र विश्वास रहेको बताए । ‘हामीले विश्वभरका दर्शकको माया पाइसकेका छौँ । अब हाम्रा नेपाली दर्शकको पनि त्यस्तै माया पाउने आशा छ,’ उनले भने ।

निर्देशक नवीन सुब्बाले दयाहाङले भनेजस्तै ‘गाउँ आएको बाटो’ले गाउँमा सडक पुगेपछिको कथा भन्ने बताए । उनले बाउ र छोराको आत्मीय सम्बन्धको कथा सिनेमाले भन्ने बताए । ‘यो कथा मलाई सुनाउन बित्तिकै मैले मेरो बुवालाई सम्झिएँ । त्यसपछि यो सिनेमा निर्माण प्रक्रिया अगाडि बड्यो,’ उनले भने, ‘छोरोछोरी हुर्काउन बुवाले गरेको संघर्ष नै यो सिनेमाको कथा हो । कति दुःख कष्ट गरेर बुवाआमाले सन्तान हुर्काएका हुन्छन् भन्ने सिनेमाले देखाउने प्रयास गरेको छ ।’

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदै छ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।

‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।