‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक


काठमाडौँ। बैशाखको २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा सिनेमा मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले सिनेमाको कथासार बुझाउँन मदत गर्छन् ।

झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ ।

उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि सिनेमामा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् ।