‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक


काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय ‘कौडा नृत्य’मा आधारित छ।

यस गीतमा तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन्। कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ। यसका कोरियोग्राफर शिशिर खाती हुन्। हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा प्रकाश सपुत र र शान्ति श्री परियारको स्वर रहेको छ।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.