‘ज्वाइँ साब’ मा जीतुको जोडी नीति शाह


काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो ।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाई छ । यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु फिल्मको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन् ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् ।

फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । बैशाखको १५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको तिहारलाई फाइनल गरिएको छ । नायिका नीति शाहले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो । ‘खजुरे ब्रो’ बैशाख २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।