इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने


काठमाडौं । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी ‘मेरो कथा मेरो चलचित्र’ कार्यशाला आयोजना गर्ने भएको छ । आगामी बैशाख ३ देखि ७ गतेसम्म संचालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्ष मुनिका १५ जना बालबालिकाहरु सहभागी हुने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए ।

कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्डले बालबालिकाहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरुमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना शुरु गरेको छ । सोही परियोजना अन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक बालबालिकाहरुले लघु चलचित्र निर्माण गर्नु पर्नेछ ।

इटहरीमा संचालन हुने कार्यशालामा सहभागिताका लागि बोर्डले शुक्रबार आफ्नो वेवसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको बोर्ड सचिवालय अधिकृत एवं कार्यशाला व्यवस्थापक निर्मला चौलागाईंले बताइन् । अधिकृत चौलागाईंका अनुसार कार्यशालामा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेवसाइटमा राखिएको आवेदन फाराम भरी fdbworkshpo2024@gmail.com मा पठाउनु पर्नेछ ।